सर्वदलीय बैठकअघि सत्ता गठबन्धनको बैठक बस्दै, यस्तो कारण देखाउंदै एमाले सहभागी नहुने, प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकअघि सत्ता गठबन्धनको बैठक बस्दैछ। विभिन्न राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन सत्तारुढ दलको बैठक बोलाइएको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । ‘साझा धारणा निर्माणका लागि दिउँसो २ बजे सत्तारुढ गठबन्धनको बैठक बस्नेछ,’उनले भने।
त्यसपछि अपराह्न ४ बजे सर्वदलीय बस्नेछ । संसद्मा जारी अवरोध, एमसीसीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले बैठक आह्वान गरेका हुन् । बैठकमा संसद्मा सहभागि सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको छ ।
विगत लामो समयदेखि नेकपा (एमाले) ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ । एमाले आजको बैठकमा पनि सहभागी हुने छैन । प्रतिनिधिसभाको आगामी बैठक पुस ६ गते मंगलबारका लागि आह्वान गरिएको छ।
एमाले नजाने
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी एमाले नजाने भएको छ। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई बोलाएकोले आफूहरू सहभागी नहुने एमालेका नेताहरूले बताएका छन्।
एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा सहभागी नहुने बताए। ‘सर्वदलीय बैठकमा को–को उपस्थित हुन्छन् भन्ने कुराले हामी उपस्थित हुने र नहुने भन्ने भर पर्छ,’ पोखरेलले भने, ’हामीले मान्यता नदिएका नगरेकाहरूलाई बोलाए त हामी कसरी उपस्थित हुने?’
संसद् अवरोध र एमसीसीबारे सरकारको नेतृत्व गरिरहेको दल कांग्रेससँग छलफल हुनसक्ने पोखरेलले बताए। संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने भनिएका सबै दललाई बोलाए एमाले सहभागी नहुने बताएका छन्।
प्रतिनिधिसभाको आगामी बैठक पुस ६ गते मंगलबारका लागि आह्वान गरिएको छ। उक्त दिनको बैठकमा एमसीसी सम्झौतालाई अगाडि बढाउने सरकारको तयारी रहेको छ। एमालेले संसद्मा अवरोध जारी राखेको छ। आफूबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपाललगायत १४ सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै एमालेले विरोध गरिरहेको हो। उनीहरूलाई सांसद पदबाट मुक्त गर्नुपर्ने एमालेको माग छ।
एमाले प्रधानमन्त्री देउवाले बोलाएका यसअघिका सर्वदलीय बैठकमा पनि सहभागी भएको थिएन।














