कोरियाबाट फर्किएका बुवा र एमएससी गर्दै गरेका छोरा एकसाथ म्यादीमा (भिडियो हेर्नुस्)
काठमाडाैं | साढे ६ वर्ष दक्षिण कोरियामा काम गरेर फर्किएका बुवा र त्रिभुवन विश्वविद्यालयबाट एमएससी गर्दै गरेका छोरा सँगै म्यादी प्रहरीमा भर्ना भएका छन् ।आइतवारबाट शुरू भएको ४० दिने म्यादीको जागिरमा सीतापाइलाका राजेन्द्र बास्कोटा र उनका छोरा आदेश बास्कोटा एकसाथ भर्ती भएका हुन् ।
यसअघि स्थानीय तहको निर्वाचनमा समेत म्यादी प्रहरीमा खटिएका बास्कोटाले यसपटक भने छोरालाई पनि सँगै लिएर गएका छन् । छोराको अहिले क्याम्पस बिदा भएको हुँदा फुसर्दको समयको सदुपयोग गर्न र केही नयाँ सिक्दै आयआर्जन गर्न म्यादीमा भर्ना भएको बास्कोटाले बताए ।
सुरक्षा निकायसँग जोडिन पाउने, फुसर्दको समय सदुपयोग हुने र निर्वाचनमा पनि प्रत्यक्षरूपमा भाग लिन पाइने भएकाले अघिल्लोपटक म्यादीमा गएका राजेन्द्र यसपटक पनि भर्ती भएका हुन् ।अघिल्लोपटक काम गर्दाको सुखद् अनुभवका कारण पनि म्यादीमा फेरि भर्ती हुन प्रोत्साहन मिलेको उनले बताए ।बाहिर बस्दा मेहनत गर्ने बानी एकदमै धेरै हुन्छ । त्यहीँ मेहनत गर्दागर्दै कोरियामा नै उनी दुर्घटना परेका थिए । दुर्घटनामा हातमा गम्भीर चोट लागेकाले केही समयको उपचारपछि उनी स्वदेश फर्किए ।
मशिनमा परेको उनको हात स्वदेशमा थप उपचारपछि तन्दुरुस्त त भयो तर हातलाई दबाब पर्ने काम गर्न नमिल्ने र केही समय आराम गर्नुपर्ने सुझाव चिकित्सकले दिए ।हात विस्तारै ठीक हुँदै गएपछि म्यादीमा जान सकिने सोचेर उनी अघिल्लोपटक नै भर्ती भएका थिए । त्यसो त गत स्थानीय चुनावमा म्यादीमा खटिएकैलाई नेपाल प्रहरीले यसपटक पनि प्राथमिकता दिएको छ ।
वैशाखकै स्थानीय तहको निर्वाचनमा म्यादीमा जान रुचि देखाएका छोरा आदेश भने पढाइकै कारण सहभागी हुन पाएका थिएनन् । यसपटक भने नियमित कलेज जानु नपर्ने, घरमा बसेर समय व्यतित गर्नुभन्दा नयाँ अनुभव हुने र सुरक्षा निकायसँग जोडिएर केही सिक्न पाइने हुँदा म्यादीमा भर्ती भएको आदेशले बताए ।आदेश विज्ञान संकायअन्तर्गत भौतिक शास्त्रमा एमएससी गर्दैछन् । काम सानोतिनो नहुने र आफूलाई जे सहज लाग्छ त्यो गर्न सकिने सोचेर म्यादीमा भर्ती भएको उनको भनाइ छ । आदेशलाई आफ्नो शैक्षिक उपाधिसँगै लोकसेवातर्फ पनि रुचि छ ।
उनले अहिले पनि राष्ट्रिय परीक्षा बोर्डका लागि तयारी गर्दैछन् । उनले यसअघि नेपाल प्रहरीमा रोजगारीका लागि प्रयास गरेको भएपनि अन्तर्वार्तामा छनोट हुन सकेनन् । लोकसेवामा रुचि रहेकाले उमेर छउञ्जेल सरकारी सेवाकै लागि प्रयास गरिरहने उनी बताउँछन् । फुसर्दको समयको सदुपयोग गर्दै आर्थिक उपार्जन गर्नमा शिक्षित युवाहरू पनि अगाडि सर्नुपर्ने बुवा राजेन्द्र बताउँछन् ।काम सानोठूलो नहुने भएकाले शिक्षित भन्दैमा काम गर्न हिच्किचाउन नहुने छोरा आदेशको बुझाइ छ । हेर्नुहोस्, भिडियो :
अन्य समाचार :- ‘वि`वाद’ले रोकिएको फिल्म प्रसादमा अब नम्रताले अभिनय नर्गने भएकी छन् । प्रसाद’मा शिर्ष भूमिका निर्वाह गरेकी नम्रता ‘प्रसाद २’मा भने नदेखिने भएकी हुन् । दोस्रो श्रृंखलामा दर्शकले नम्रता श्रेष्ठलाई हेर्न नपाउने भएपछि उनका फ्यानहरु निराश भएका छन् ।‘विवाद’ले रोकिएको फिल्मको आगामी छायांकन मंसिर ७ गतेदेखि सुरु गर्ने लिखित सहमति भइसकेको छ ।नम्रताको ठाउँमा अब ऋचा शर्मा देखिने सम्भावना बलियो रहेको बताइएको छ ।
निर्देशक सुदर्शन थापा र निर्माताले ऋचालाई प्रस्ताव राखिसकेका छन् भने ऋचाले पनि स्क्रिप्ट मन पराएकी छन् । फिल्म ऋचा विपिन कार्कीको अपोजिटमा देखिने भएकी छन् । सुशील पौडेलले लेखेको फिल्मको पहिलो श्रृंखलाले बक्स अफिस र समीक्षात्मक दुवै हिसाबमा राम्रो सफलता प्राप्त गरेको थियो ।
याे पनि,निर्वाचन प्रचारका लागि टाँगिएका ब्यानर हटाउन निर्देशन:निर्वाचन आयोगले निर्वाचनको प्रचारप्रसारका लागि टाँगिएका ब्यानर, तुल लगायतका सामग्री तत्काल हटाउन निर्देशन दिएको छ ।निर्वाचन प्रचारका लागि ब्यानर, तुल, भित्तेलेखन प्रतिबन्ध रहे पनि केही क्षेत्रमा प्रयोग भएको पाइएपछि आयोगले प्रमुख जिल्ला अधिकारीहरुमार्फत् यस्तो निर्देशन दिएको हो ।
निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले उम्मेदवारले विभिन्न ठाउँमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएकाले रोक्न भनिएको बताए ।सम्बन्धित उम्मेदवारलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई उनले आग्रह गरे ।सम्बन्धित उम्मेदवारले ब्यानर आफूले टाँगेको हो भनि स्वीकार नगरेको खण्डमा जुन चुनाव चिह्नको प्रयोग भएको छ त्यही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउने आचारसंहितामा उल्लेख छ ।















