काठमाडौं, साउन ०१ । ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना हुँदा पाइलटसहित ८ जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार सर्वियाबाट जोर्डन गइरहेको उक्त एएन-१२ जहाज शनिबार साँझ उत्तरी ग्रिसको एउटा गाउँमा दुर्घटनामा परेको हो। मकैबारीमा खस्नुभन्दा अघि जहाजमा आगोको मुस्लो देखिएको थियो।
जहाजको इन्जिनमा समस्या देखिएपछि पाइलट आपतकालीन अवतरणका लागि खबर गरेका थिए तर केहीबेर जहाजको सम्पर्क टुट्यो। हतियारसहित अति संवेदनशील सामान बोकेको जहाजमा केहीबेरपछि बिस्फोट भएको थियो। जहाजले उक्त सामान बंगलादेश ल्याउन लागेको अलजजिराले जनाएको छ।
अन्य समाचार : मुगु, १ साउन ,
सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोगमा कानुनले रोक लगाएको छ । कार्यालय प्रयोजनमा चलाउनै पर्दा सम्बन्धित निकायबाट पास लिएर मात्र कुदाउन पाइन्छ । तर मुगुमा भने यो नियमको पालना भएको पाइँदैन ।
मुगुमा नियम विपरित सरकारी कर्मचारीले बिदाको दिन आज विशेष गरेर लुतो फाल्ने दिन, साउने संक्रान्तिको पर्वको निहु पारेर दर्जनबढी सवारीको दुरुपयोग भएको पाइएको हो ।
यसले नियमको धज्जी मात्र उडाएको छैन, सरकारी सम्पत्तिको दुरुपयोग र फजुल खर्च पनि बढाएको छ । मुगुमा प्राय कर्मचारी कार्यालय प्रमुख सम्मले सरकारी सवारी साधन दुरुपयोग गरेको भेटिन्छ ।
आज परेको साउने संक्रान्तिमा विदाको समय भएता पनि सरकारी सवारी साधन लिएर मुगुका मुख्य पर्यटकिय स्थल रारा ताल , लगायत अन्य स्थानहरुमा गाडी लिएर यात्रु बोक्ने काम गरेको पाईएको हो । कर्णाली प्रदेश सरकारले साउनको १ गते दश वटै जिल्लामा सार्वजानिक विदा दिईएको छ ।
बिदाको समयमा सरकारी गाडी चलाउन पाँईदैन यदि चलाए पनि पास लिनु पर्ने तर यहाँका कुनै पनि सरकारी कार्यालयले पास नलिएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए । उनका अनुसार नियम उल्लघंन गरि सरकारी गाडी चलाउने कार्यालयलाई कार्वाही गरिने बताए ।
ट्राफिक प्रहरीको दोहोरी नीति
मुगुमा बिदाको दिन सरकारी गाडी प्रयोग गर्ने कार्यालय वा कर्मचारीलाई कारबाही गर्न ट्राफिक प्रहरीले वेवास्ता गरेको छ । तर सर्वसाधारणमाथि भने उसले नियम पालनामा कडाइ गरेको आरोप लागेको छ । यसबारे प्रश्न गर्दा एक जना ट्राफिक प्रहरीले जिल्ला प्रशासनमा बुझ्न भने ।















