अब विस्तारै विद्यालयहरु खोल्ने तयारी शुरु भएको छ । विज्ञहरुले पनि विद्यालय खोल्न सुझाव दिएका छन् । शहरी क्षेत्रका विद्यालय र शहरी क्षेत्रमा बस्ने विद्यार्थीहरुले जेनतेन अनलाइन कक्षा सञ्चालन गरेको भए पनि ग्रामीण क्षेत्रमा बस्ने अधिकांशको पहुँचमा पुगेको छैन अनलाइन कक्षा ।
किनभने, कम्तीमा २ सन्तानका लागि ल्यापटप वा मोबाइल, मोबाइल डाटा वा इन्टरनेटको आवश्यकता पूरा गर्न सक्ने हैसियत सबै अभिभावकसँग छैन । त्यसबाहेक ग्रामीण भूभागका कतिपय स्थानमा मोबाइलको नेटवर्कसम्म छैन भने इन्टरनेटको पहुँच त अझै टाढाको विषय भयो । त्यसकारण पनि १७ महिनाको अवधिमा विद्यार्थीको सिकाई उपलब्धी खस्किएको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले आजदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई परिपत्रगरी आज (मंगलबार)देखि सबै विद्यालय विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन गर्न निर्देशन दिएको हो।
काठमाडौं उपत्यकाका विद्यालय ०७६ चैतदेखि नै बन्द अवस्थामा छन्। गत वर्ष केही समय खुलेका विद्यालय पनि पुनः कोरोना संक्रमण बढेपछि बन्द भएका थिए। यस अवधिमा धेरैजसो विद्यालयले अनलाइनको माध्यमबाट कक्षा सञ्चालन गर्दै आएका छन्।
गोकर्णेश्वर नगरपालिकाले भने आजदेखि भौतिक दूरी र स्वास्थ्य मापदण्डको पालना गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो। गोकर्णेश्वर जस्तै उपत्यकाका धेरै स्थानीय तहले अब विस्तारै विद्यालय सञ्चालन गर्ने आन्तरिक तयारी अघि बढाएका छन्।
‘भदौ १५ गतेदेखि सबै विद्यालय सञ्चालन गर्ने निर्णय भएकोले सोही अनुसार विद्यालय सञ्चालन गर्ने उपयुक्त वातावरण मिलाउन अनुरोध गरिन्छ,’ नगरपालिकाका उपसचिव विजयप्रसाद आचार्यले जारी गरेको सूचनामा भनिएको छ, ‘विद्यालय स्वयंले स्वास्थ्य सुरक्षाको भरपर्दो र विश्वसनीय वातावरण अनिवार्य रुपमा तय गर्नुपर्नेछ।’














