गत चैत ३० गते संकास्पद मृ त्यु भएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकीनगरकी अमृता टण्डन खात्रीको शव अझै अन्त्यष्टि गरीएको छैन। उनले विष सेवन गरी आ त्म ह त्या गरेको अमृताका श्रीमान र सासु ससुराले बताईरहेका छन्। तर,माइती पक्षले परिवारले उनको ह त्या गरेको आरोप लगाँउदै निश्पक्ष छानविनको माग गरेका छन्। माइती पक्ष र स्थानीयले अमृताको न्यायका लागि भन्दै दिनहुँ जसो तिलोत्तमा सडक अवरुद्ध गरेर प्रदर्शन गरीरहेका छन्।
६ दिनदेखि अमृताको श व प्रादेशिक अस्पतालको शव गृहमा छ। कर्तब्य ज्यान मुद्दाको जाहेरी परे लगत्तै प्रहरीले अमृताका श्रीमान,सासु,ससुरालाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। घटनाको अनुसन्धानका लागि सीआईबीको तीन सदस्य टोली सोमबारै बुटवल आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले बताए। डिएसपि पौडेलका अनुसार श वको भिसेरा जाँचका लागि मंगलबार नमुना काठमाडौं पठाइएको छ।
तर, माइती पक्षले भने काठमाडाैं पठाइएको नमुनाको रिर्पोट नआउँदै अन्त्यष्टि गरिँदा न्याय नपाइने होकी भन्ने आशंका व्यक्त गरेका छन्। सुरुमा इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले शं कास्पद मृ त्युका सम्बन्धमा सुक्ष्म अनुशन्धान नै नगरी अमृताले आ त्म ह त्या गरेको भन्दै कर्तव्य ज्यान मुद्दा दर्ता गर्न आलटाल गरेकाले न्याय पाइन्छ भन्नेमा आस्वस्त हुन नसकेको अमृताका दाइ पुष्पक खत्रीले बताए। तर डिएसपी केसीले भने पीडितहरुको जाहेरीका आधारमा तत्कालै मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरीएको बताए।
परिवारको मानप्रतिष्ठा र इज्जत जोगाइदिन मिलापत्र गराइएको घरेलु हिंसाले निम्तीएको घटना
परिवारको मान प्रतिष्ठा र इज्जतकाकालागि भन्दै महिलामाथि हुने घरेलु हिंसाका घटनालाई सामान्यीकरण गरिँदा हिंसाले कसरी महिलाको ज्यानै लिन्छ भन्ने उदाहरण हो अमृता मृ त्यु प्रकरण। २९ वर्षे अमृतामाथि हुँदै आएको घरेलु हिंसालाई परिवार,आफन्त र जनप्रतिनिधिहरुले समेत नजरअन्दाज गरिदिँदा चैत ३० गते राती उनले ज्यान गुमाउनु पर्यो। वडा कार्यालय सम्मपुगेको घरेलु हिंसाको घटनालाई परिवारको इज्जत मानप्रतिष्ठासंग जोडेर मिलापत्र गरिदिँदा ८ वर्षे नावालकबाट आमाको काख खोसीएको छ।
के हो घटना?
‘माइतीले भन्छन घर जा घरकाले भन्छन तेरो माइत जा। चेलीको जिन्दगी पनि कस्तो घर न घाटको अब त्यो चेली कहाँ जाने? माइतीलाई इज्जत प्यारो भयो बिहे गरेर गएकी चेलीलाई घरकाले टेक्न नदिने, चेलीको फेर्ने सास गयो।’ अमृताले आफ्ना दाजु पुष्पकलाइ गत चैत ३० गते राती करिब ९.१४ मा पठाएको म्यासेज हो यो। पुष्पकले म्यासेज देख्ने बित्तिकै सोधे ‘के भयो र बहिनी,खाना खाइस?’
अमृताले ९.३२ मा फेरि म्यासेज पठाइन् ‘दाई म मर्न चाहान्न, म यहाँ बस्न नी सक्दिनँ, प्लिज दाई हजुरको बोझ नी हुन चाहान्न, प्लिज दाई मलाई यहाँबाट निकाल्न हेल्प गर्नु म निस्किन चाहान्छु’। दाई पुष्पकले बहिनीलाई म्यासेजबाटै सम्झाउने प्रयास गरे ‘तँ जस्तो मान्छे मर्ने कुरा गर्ने हो? भोलि भान्जासंग आइज कुरा गरम्ला।’ त्यसपछि अमृताले न जवाफ दिइन् न फोन उठाइन्।
बहिनीमाथि केही नराम्रो हुने हो की भनेर आमा र श्रीमतीसंग चिन्ता व्यक्त गर्दागर्दै दश बजेतीर अमृताले विष सेवन गरर अस्पताल पुर्याइएको खबर पुष्पकले पाए। पुष्पक र उनकी श्रीमती मुना दौडीदै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुगे। भाउजु मुनाले नानीलाइ के भयो कहाँ हुनुहुन्छ भनेर सोध्दा अमृताका श्रीमान प्रेमले ठाडो जवाफ दिए ‘माथि गइ (मरी)’। ‘ज्वाइँको अनुहारमा चिन्ता पिर केही थिएन। त्यस्तो दुखद खबर कति सजिलै सुनाउन सकेको होला हामीलाई विश्वासै लागेन’ मुनाले भनीन्। तर खबर सत्य थियो। आफूलाइ बचाउन दाजुसंग याचना गरेको आधा घण्टा नहुँदै अमृताले सदाका लागि यो सन्सारबाट बिदा लिइन्।
श्रीमान र सासु ससुराले अमृताले आत्महत्या गरेको दावी गरेका छन्। परिवार मिलेर अमृताको ह त्या गरेको दावी माइती पक्षले गरीरहेका छन्। १२ कक्षा पढ्दै गर्दा अमृता खत्री र प्रेम टण्डनबीच ९ वर्षअघि प्रेम विवाह भएको थियो। अहिले उनीहरुका ८ वर्षका छोरा छन्। प्रेम र उनको परिवार रोजगारीका सिलसिलामा भारत बस्थ्यो। विवाहपछि अमृता पनि भारत गइन्। पाँच वर्षअघि जानकीनगर २ भेट्नरीलाइनमा घर बनाएपछि प्रेमको परिवार यतै बस्न थाल्यो। अमृताको माइती र घर ३ सय मिटरको दुरीमा छ। विवाहको केही वर्ष सम्बन्ध राम्रै भएपनि नेपाल आएपछि सम्बन्ध सुमधुर हुन सकेन।
श्रीमान र सासुले आफूमाथि शारिरीक र मानसिक हिंसा गरेको गुनासो अमृताले साथी र माइतीसंग पटक पटक गरेकी थिइन्। ‘स–सानो कुरामा पनि सासुले तथानाम गाली गर्नुहुन्छ ज्वाइँले पनि हात उठाउनुहून्छ भनेर नन्दले सुनाउनुहुन्थ्यो’ अमृताकी भाउजु मुना खत्रीले भनीन्। टहलसिंह टण्डन र दीपा टण्डनका प्रेम एक्ला छोरा हुन्। उनकी एउटी दिदी छन्। भारतमा छँदा जागिरे उनी नेपाल फर्केपछि बेरोजगार थिए। परिवारको गर्जो टार्न सहज होस भनेर अमृताले फर्निचर उद्योगमा जागीर गर्थिन्। घरधन्दा नगरेर जागीरमा गएको र पैसा पनि पुरा नदिएको भन्दै सासु र श्रीमानले गाली गर्ने गरेको अमृताले आमा र भाउजुलाइ सुनाएकी थिइन्।
घर झगडा बढ्दै गएपछि गत भदौमा अमृताले वडा कार्यालयमा निवेदन दिइन्। छलफलका क्रममा अमृताले सम्बन्धविच्छेद गर्न चाहेको बताएकी थिइन्। तर समाज, इज्जत मान प्रतिष्ठाको हवाला दिँदै वडा अध्यक्ष दधिराम गौतमको रोहबरमा वडा सचिव,सदस्यहरु,घर र माइती पक्ष बसेर अबआइन्दा अमृता घरमै बस्ने र परिवारका सदस्यले पनि अमृतालाई स–सानो कुरामा खोट नलगाउने, घरमा बस्ने वातावरण मिलाउने भनी मिलापत्र गराए।
सामान्य झैझगडा होला भनेर सुरुमा छोरीलाइ सहनुपर्छ, छोराको भविष्य हेर्नुपर्छ भनेर सम्झाएर घर नै पठाउने गरेको अमृताकी आमा सावित्रा खत्रीले बताइन्। ‘पहिले त सामान्य होला भनियो, अति नै भएपछि छोडपत्र गराउने कि भन्दा भन्दै छोरी नै गुमाउनु पर्यो’ सावित्राले पीडा व्यक्त गरिन्।
अमृताका माइती,आफन्त,जनप्रतिनिधि सबैले उनीमाथि भइरहेको घरेलु हिंसालाइ सुरुमा सामान्य घर झगडा ठाने। समाजमा इज्जत मान प्रतिष्ठा गुम्ने भयसंगै ८ वर्षका छोराको भविष्यकालागि भन्दै हिंसालाइ नजर अन्दाज गरिँदा अन्ततः त्यसैले अमृताको ज्यान लियो। वडामा मिलेर बस्ने भनी सहमति गरेका सासु ससुरा र श्रीमानले घरको इज्जत वडासम्म लगेको भन्दै अमृतासंग झन् रुष्ट बने। प्रेम विवाह गरेकाले धेरै कुरा माइतीलाई बताउन नसक्ने साथीलाई बताउने गरेकी थिइन्। चाडपर्वमा बोलाउँदा ज्वाँई ससुराली नजाने मोबाइल नम्बर पनि ब्लक गर्ने गरेपछि बल्ल अमृता र परिवारको सम्बन्ध अझै नसुध्रेको आफूहरुले चाल पाएको दाइ पुष्पकले बताए।
स्थानीयका अनुसार घटनाको अघिल्लो दिन चैत २९ गते पनि अमृता र प्रेमबीच झगडा भयो। अमृताले रुँदै फोन गरेपछि पुष्पक र भाउजू मुना घर पुगे। त्यहाँ छिमेकी पनि जम्मा भइसकेका थिए। केहीबेर पुष्पक र अमृताका सासू सुसुराबीच भनाभन भयो। पारिवारिक कुरामा माइतीले हस्तक्षेप गरेको आरोप सासु ससुराले लगाएपछि बहिनीसंग केही परे खबर गर्नु भन्दै पुष्पक घर फर्के।
भोलीपल्ट चैत ३० गते बिहानै अमृता झोला बोकेर माईत आईन। दिउँसो काममा गइन्। साँझ प्रेमले पटक पटक फोन गरेर बोलाए। मसान्तिको दिनमा घर नआए कान्छो सदस्यलाइ जे पनि हुन सक्ने र छोरालाइ केही भए तँ जिम्मेवार हुन्छेस् भनेपछि अमृता अत्तालिँदै राती ८.३० मा घर गाइन्। पाकेको भात समेत नखाइ माइतबाट हिडेकी अमृताले ९.३२ मा दाइसंग आफुलाइ बचाउन याचना गर्दै म्यासेज पठाइन्। त्यसको आधा धण्टा नबित्दै उनको शव अस्पतालमा थियो। अमृतालाइ ९.५० मा अस्पताल पुर्याइएको र अस्पतालले १० बजे मृत्त घोषणा गर्दै डेथ सर्टिफीकेट दिएको प्रहरीले जनाएको छ।
‘मोबाइलमा कुरा गरीरहेको व्यक्ति १८/२० मिनेट भित्रै कसरी आत्महत्या गर्यो। त्यती छोटो विष कहाँबाट आयो?’ अमृताका दाजु पुष्पकको प्रश्न छ। अमृताको मृत्यु डि.डि.फैक्स नामक किटनाशक वि षा दीको सेवनबाट भएको चिकित्सकलाई उदृत गर्दै प्रहरीले जनाएको छ। जुन विषादी नेपालमा प्रतिबन्धित छ।















