पछिल्लो समय युट्युबमा ‘लाइभ दोहोरी’को बाढी नै आएको छ । दिनैपिच्छे नयाँ-नयाँ लाइभ दोहोरी युट्युबमा सार्वजनिक भइरहेका छन् । ती लाइभ दोहोरी हेर्ने दर्शकको संख्या पनि उल्लेख्य हुने गरेको छ । थुप्रै लाइभ दोहोरी युट्युब ट्रेन्डिङमा समेत आउने गरेका छन् ।
युट्युबमा लाइभ दोहोरीको माहोल सुरु भएको केही वर्ष भएपनि पछिल्ला दुई वर्षयता एकदमै मौलाएको कलाकारहरु बताउँछन् । व्यावसायिक रुपमा लाइभ दोहोरी गाउने अधिकांश गायक-गायिका हिजोआज हरेक दिनजसो व्यस्त रहने गरेका छन ।
लाइभ दोहोरीबाट निकै चर्चित भएकी गायिका हुन् टीका सानु । हिजोआज हरेक दिनजसो उनको व्यस्तता लाइभ दोहोरी गाउनमै हुने गरेको छ ।
‘कहिलेकाहीं ५/६ वटा पनि गाउँछु,’ उनले भनिन्। टीका सँगै रविन लामिछाने, कल्पना दाहाल, मानसिंह खड्का, प्रकाश पराजुली, बबिता बानियाँ (जेरी), सुमन थापा, श्याम राना, भीम पौडेल, बालचन्द्र बराल, आशा बीसी, रेशम निर्दोष, चीज गुरुङ, अस्मिता डल्लाकोटी, सुशीला लामा, डिला विक, तारा थापा लगायत लाइभ दोहोरीबाट चिनिएका गायक-गायिका हुन् । केही बाल गायक-गायिकाहरुले समेत लाइभ दोहोरीबाट लोभलाग्दो ख्याति कमाएका छन् ।















