‘एसएमजी’ चोरी प्रकरण : निर्दोष रहेको भन्दै दुई सैनिकले पाए सफाइ, बढुवा भने तीन वर्ष रोक्का

0
69

काठमाडौँ । हतियार ‘एसएमजी’ चोरेको आरोपमा २८ महिनादेखि जेलमा रहेका नेपाली सेनाको कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ र जवान सरोज तामाङ सफाइ पाएका छन् ।

उच्च अदालत, पाटनका न्यायाधीश लोहितचन्द्र शाहको अध्यक्षतामा गठित सैनिक विशेष अदालतले दुई सैनिकलाई शुक्रबार सफाइ दिएको हो ।

एसएमजी चोरी प्रकरणमा अमल्दार गुरुङ र सिपाही तामाङ निर्दोष रहेको भन्दै उनीहरुलाई आफ सफाई दिइएको छ । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयलेका अनुसार उनीहरुले चोरी प्रकरणमा सफाइ पाएतापनि संगठनको आन्तरिक मर्यादा मिचेर गैरजिम्मेवारीपूर्ण कार्य गरेको अभियोगमा ३ वर्ष बढुवा रोक्का गर्ने निर्णय गरेको छ ।

उनीहरुलाई चितवन स्थित सेनाको कालीबहादुर गणबाट ०७५ पुस ३ मा हराएको स्वचालित सट मेशिन गन (एसएमजी) चोरीको आरोपमा जिल्ला कारागार, चितवनमा बन्दी बनाइएको थियो ।

उनीहरुले २०७६ जेठमै आफूहरु निर्दोष रहेको भन्दै सैनिक विशेष अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए । त्यसमाथि सुनुवाइ हुन सकेको थिएन ।

सेनाका आन्तरिक अनुसन्धापछि उनीहरुले चोरेको भनिएको हतियार महेन्द्र दल गणमा कार्यरत अर्का सैनिक जवान गंगाधर ढकालको साथमा फेला परेको छ ।

ढकालले साउन ७ मा चितवनमा हुँदा भरत गुरुङलाई सो हतियार प्रयोग गरेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । भरत गुरुङको हत्या आरोपमा पक्राउ परेका ढकाललाई चितवन जिल्ला अदालतले सैनिक अदालतको जिम्मा लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here