आकाशमा उड्दै पाइलट रिता प्याकुरेल भन्छिन् नेपाली छोरी कम छैनन्

0
4

काठमाडौ । रिता प्याकुरेललाई सानैदेखि उनलाई पाइलट बन्ने रहर थियो । आकाशमा कतै विमान उडेको आवाज सुन्नासाथ उनको आँखा त्यतै जान्थ्यो । उनी त्यो विमानलाई आँखाले देखुञ्जेल हेर्थिन् ।

अनि मनमा कल्पन्थिन्, ‘एकदिन म पनि पाइलट बनेर प्लेन उडाउँछु ।’

काठमाडौको सिद्धार्थ वनस्थली स्कुल पढ्दा विद्यार्थीहरु कोही डाक्टर, त कोही इन्जिनियर बन्ने लक्ष्य लिन्थे । कसैले रीतालाई सोध्दा भने उनी निर्धक्क भएर भन्थिन्, ‘आफू त पाइलट बन्ने हो ।’

उनका बुबा आर्मीमा भएकाले आफ्ना दुवै जना छोरीलाई डाक्टर बनाउने सोचेका थिए तर रीतालाई त पाइलट बन्नु थियो । आमा पनि त्यति सकरात्मक देखिएकी थिइनन् ।

पाइलटबाहेक अन्य क्षेत्रमै केही गरोस् भन्ने आमाको चाहना थियो । रीताको जिद्दी स्वभावको अगाडि आमा र बुबाको पनि केही चलेन ।

उनलाई त जसरी पनि पाइलट बन्नु जो थियो । त्यसैले एसएलसी दिएपछि बुद्ध एयरको अफिस पुगिन् रीता ।

बुद्ध एयरको नम्बरमा फोन गरेर उनले भनिन्, ‘म पाइलट पढ्न चाहन्छु के गर्नुपर्छ ?’ यो फोन उठाउने व्यक्ति थिए, सुवर्ण खरेल । उनले भने, ‘यसबारेमा अफिसमा नै छलफल गर्दा कसो होला ?’

सुवर्णले रीतालाई विज्ञान विषय पढेर १२ कक्षा सक्न सुझाव दिए । १२ सकिना साथ बुद्ध एयरमै भ्याकेन्सी खुल्यो, को–पाइलटको लागि ।

भ्याकेन्सीबारे थाह पाउना साथ रीताले सोही पदका लागि निवेदन दिइन् । ‘त्यो बेला अमेरिकाले सजिलै भिसा दिँदैनथ्यो । त्यही भएर बुद्धबाट नै ट्रेनिङको लागि छनोट भएँ,’ उनले शुरुवाती उत्साहबारे बताइन् ।

१२ कक्षा सक्दा उनको उमेर मात्र १८ वर्षको थियो । सन् २००६ मा उनी पाइलट ट्रेनिङको लागि अमेरिका उडिन् । छ महिनाको तालिमका लागि भनेर गएकी थिइन् तर उता १५ महिना बस्नुपर्‍यो । कहिले विद्यार्थी धेरै भइदिने, कहिले मौसम प्रतिकूल भइदिने जस्ता अनेकन समस्याका कारण तालिम अवधि लम्बिन पुग्यो ।

अमेरिकी आकाशमा पहिलो पटक विमान उडाउन लाग्दा उनलाई आफ्नो लक्ष्यको नजिक छु भनेर लागिसकेको थियो । ‘फस्ट फ्लाइट गर्दाको दिनजस्तो खुसी म कहिल्यै भएको थिइनँ,’ रीताले भनिन्, ‘‘ड्रिम कम ट्रु’ भएको महसुस भयो । मैले जे सोचेर अमेरिका पुगेकी थिएँ, त्यो पूरा भयो भन्ने भएको थियो । पहिलो फ्लाइट जम्मा २० मिनेटको थियो तर मेरो जीवनको यो महत्वपूर्ण घडी थियो ।’ आफूले इच्छाएको विषय भएका कारण उनले तालिमताका खुब मिहिनेत गरिन् । सबै कक्षा रमाइलो मानेर सिक्थिन् । त्यही मेहनतले परिणाम दिलायो । तालिम सकिएपछि त्यसपछि सन् २००८ मा उनी नेपाल फर्किन् । हातमा थियो सिपिल (कमर्सियल पाइलट) लाइसेन्स । त्यो बेला पाइलट बन्न उनले ४० लाख खर्च गरिन् ।

सन् २००८ मा नेपाल फर्केपछि उनी बुद्ध एयरमा आबद्ध भइन् । २००८ को अप्रिल १ मा उनले स्वदेशी माटोमा पहिलो उडान भरिन् । त्यो काठमाडौँदेखि विराटनगरको उडान थियो । ‘मौसमले झुक्याउने दिनमा पहिलो फ्लाइट गरेँ,’ सफल उडानको खुसीलाई हाँस्दै सुनाइन् ।
त्यसपछि लगातार उनी उडानमै व्यस्त भइन् । उडानसँगै स्नातक अध्ययनलाई पनि अघि बढाउँदै लगिन् । वर्षमा दुई पटक त पाइलटको विभिन्न तालिम भइरहने हुन्छ । उता तालिम र यता कलेजको परीक्षा एकैपल्ट गर्न नसेकर स्नातक तेस्रो वर्षबाट पढाइ छोडिन् अनि आकाशमै रमाउन थालिन् रीता ।

अहिले बिहानको सिफ्ट हुँदा उनी सबेरै उठ्छिन् । अफिसको गाडी एक घण्टाअघि नै लिन आइसकेको हुन्छ । खाजा खान्छिन् । बुद्ध एयरको अफिस पुगेर सुरुमा बिए (अल्कोहल छ ? छैन भन्ने) टेस्ट दिन्छिन् । त्यसपछि अफिसमा गएर आज कताको उडान भर्नुपर्ने हेर्छिन् । ‘कुन डेस्टिनेसनमा जाँदैछु ? त्यहाँको मौसमको अवस्था के छ ? फ्युल प्लानिङ के छ ? यी सबै कुरालाई परीक्षण गर्छौं । फस्ट अफिसर र पाइलटले एयर क्राफ्ट (विमान) को भित्री र बाहिरी इन्स्पेक्सन चेक गर्छौं ।

त्यसको जाँच पहिले नै इन्जिनियरले गरिसकेका हुन्छन् तर क्याप्टेनले त्यो एयर क्राफ्ट एसेप्ट गर्नुअगाडि सबै चेक गरेर हस्ताक्षर गर्छन्,’ उनले विमान उडाउनु अगाडिको प्रक्रिया सुनाउँदै भनिन्, ‘त्यसपछि इटिसी (एयर क्राफ्ट कन्ट्रोलर) सँग गन्तव्य स्थानको मौसम, भिजिबिलिटी, टेम्प्रेचर सोधेर अनि बल्ल प्यासेन्जर बोर्डिङको अनुमति दिनुपर्छ ।’ विमानमा यात्रु भरिइसकेपछि उनी गन्तव्यतिर उडान भर्छिन् । अझै रोचक जानकारी तलको भिडियोमा लिनुहोला । आफुले हेरिसकेपछि नेपाली छोरीको यो प्रगति विश्वका कुनैपनि कुनामा रहेकाहरुसम्म पुर्याउन सेयर गरिदिनुहोला । अहिलेसम्म बढिदिनुभएकोमा धन्यवाद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here