विभिन्न प्रकारका रुद्राक्षहरूको महत्त्वको बारेमा बताउँदै, सद्गुरु, हाम्रो जीवनमा रुद्राक्ष किन लाभदायी छ, रुद्राक्षले कसरी सुरक्षा कवचको रूपमा काम गर्छ अनि हामीले रुद्राक्ष लगाउनुअघि के–कस्ता कुराहरूमा ध्यान दिनुपर्छ भन्ने कुरा बुझाउँदै हुनुहुन्छ । रुद्राक्ष विशेष किसिमको वृक्षको दाना हो । साधारणतया, यो पहाडी क्षेत्रहरूको निश्चित उचाइमा वा हिमालयमा पाइन्छ । अचेल नेपाल, वर्मा, थाईल्यान्ड र इन्डोनेशियामा रुद्राक्षको वृक्षहरू पाइन्छन् ।
दक्षिण भारतको पश्चिमी घाटको केही क्षेत्रहरूमा यसका रूखहरू पाइन्छन् । तर, उच्च गुणस्तरको रुद्राक्ष हिमाली भेगको निश्चित उचाइमा पाइन्छ, किनकि यसमा माटो, वातावरण र सबैकुराले प्रभाव पार्छन् । कुन रुद्राक्ष उत्तम– एकमुखी, पञ्चमुखी वा अन्य ? रुद्राक्षको दाना एकमुखी देखि एक्काइस मुखीसम्म हुन्छ । यिनलाई फरक–फरक प्रयोजनको निम्ति लगाइन्छ, त्यसैले जस्तोसुकै पसलमा गएर जुनसुकै रुद्राक्ष लगाउनु उचित हुँदैन ।
गलत किसिमको रुद्राक्षले तपाईंको जीवनलाई अस्तव्यस्त बनाउन सक्छ । अधिकांश मानिसहरू एउटा मात्रै मुख भएको एकमुखी रुद्राक्ष लगाउन चाहन्छन्, किनकि यो अत्यन्तै शक्तिशाली हुन्छ । जब तपाईंका अनेक रूपहरू छन्, अनेक अनुहारहरू छन् भने, तपाईंले एकमुखी रुद्राक्ष लगाउँदा समस्याहरूलाई निम्तो दिइरहनु भएको हुन्छ । मानिसहरू यस्तो भन्ने गर्छन् कि यदि तपाईंले एकमुखी रुद्राक्ष लगाउनुभयो भने, तपाईंले बाह्र दिनमा आफ्नो घर छोड्नुहुन्छ । तपाईं आफ्नो परिवार छोड्नुहुन्छ वा छोड्नुहुन्न भन्ने विषय महत्त्वपूर्ण होइन ।
कुरा के हो भने, यसले तपाईंका ऊर्जाहरू यस्तो बनाउँछ कि तपाईं एक्लै रहन चाहनुहुन्छ । तपाईं अरू मानिसहरूसँग मिलनसार रहन सक्नुहुन्न । यदि तपाईं विशेष किसिमका दानाहरू लगाउन चाहनुहुन्छ भने, यही उत्तम हुनेछ कि तपाईं कोही यस्तो व्यक्तिबाट ग्रहण गर्नुहोस्, जसलाई यीबारे राम्रोसँग ज्ञान छ- न कि यत्तिकै बजारमा गएर किनेर लगाउने ! पञ्चमुखी रुद्राक्ष सुरक्षित हुन्छ अनि सबैको लागि सहायक हुन्छ– पुरुष, स्त्री, बच्चाबच्ची जोसुकैको निम्ति समेत । यो रुद्राक्ष सुख-समृद्धि, स्वास्थ्य र स्वतन्त्रताको लागि लाभदायक हुन्छ । यसले तपाईंको रक्तचाप कम गर्छ, तपाईंको स्नायु-तन्त्रमा विशेष रूपमा शान्ति र सतर्कता ल्याउँदछ । १४ वर्षभन्दा कम उमेरका बच्चाहरूले शानमुखी अर्थात् ६ मुखी रुद्राक्ष लगाउन सक्छन् ।
यसले उनीहरूलाई शान्त र एकाग्र बन्नमा सहायता गर्दछ । सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि उनीहरूले वयस्कहरूबाट सही हेरचाह र रेखदेख प्राप्त गर्छन् । गौरीशङ्कर विशेष प्रकारको रुद्राक्ष हो, जसले तपाईंको ईडा (बायाँ नाडी) र पिङ्गला (दायाँ नाडी) बिच सन्तुलन ल्याउँछ । साधारणतया, मानिसहरू यसबाट समृद्धि प्राप्त हुने विश्वास गर्छन् । समृद्धि, आर्थिक पक्षसँग मात्रै सम्बन्धित हुँदैन । यो कैयौँ रूपहरूमा प्राप्त हुन सक्छ । तपाईंसँग केही नभए तापनि तपाईं जीवनमा समृद्ध बन्न सक्नुहुन्छ । यदि तपाईं सन्तुलित बन्नुभयो अनि जीवनमा समझदारीपूर्वक काम गर्नुभयो भने, समृद्धि आफैँ आउनेछ । यस्तो तब हुन्छ, जब ऊर्जाहरूले राम्रोसँग काम गर्छन् । ऊर्जाहरूले तबमात्र राम्रोसँग काम गर्छन्, जब ईडा र पिङ्गला सन्तुलनमा हुन्छन् । गौरीशङ्करले तपाईंको ईडा र पिङ्गलालाई सन्तुलित राखी यिनलाई सक्रिय गर्दछ ।
यदि तपाईं आफ्नो जीवनलाई शुद्ध गर्न चाहनुहुन्छ भने, रुद्राक्ष सहयोगी साधन हुन सक्छ । जब कोही व्यक्ति आध्यात्मिक मार्गमा हुन्छ, आफूलाई अझ माथि उठाउनको लागि ऊ त्यस मार्गमा पाइने स–साना सहाराहरूलाई समेत उपयोग गर्न चाहन्छ- अवश्य पनि, रुद्राक्ष एकदमै राम्रो सहारा हो । रुद्राक्षलाई भिन्न–भिन्न मानिसहरूका निम्ति भिन्न–भिन्न तरिकाहरूले ऊर्जावान् बनाउँछन् । पारिवारिक परिस्थितिमा रहनेहरूका लागि रुद्राक्षलाई एउटा तरिकाले ऊर्जा भरिन्छ । यदि तपाईं ब्रम्हचारी वा सन्यासी हुन चाहनुहुन्छ भने, रुद्राक्षलाई एकदमै फरक तरिकाले ऊर्जा भरिन्छ । यसरी विशेष रूपले ऊर्जा भरिएको रुद्राक्ष पारिवारिक जीवन बिताउने मानिसहरूले लगाउनु हुँदैन ।














