काठमाडौं । बुद्ध जयन्ती आज मनाइँदै, लुम्बिनीमा दीप प्रज्वलन गरिँदै, किरात समुदायले पनि उभौली पर्व मनाउँदै ! आज वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्ती, देशभर विविध कार्यक्रम आयोजना गरी २५६५ औं बुद्ध जयन्ती मनाइँदैछ ।
गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा मनाउँछन् । कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा सीमित बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि मात्र पूरा गरिने जनाइएको छ ।
गत वर्ष पनि कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले बुद्ध जयन्ती घर घर एवं चैत्य, गुम्बा, बिहारलगायत स्थलमा निश्चित धर्मगुरुमात्र जम्मा भएर पूजा आराधना गरिएको थियो । इशापूर्व ५६३ अर्थात् आजभन्दा २५६५ वर्ष अघि सिद्धार्थ गौतमको जन्म आमा मायादेवी माइती देवदह जाने क्रममा लुम्बिनीमा भएको थियो । राजा शुद्धोधन र मायादेवीको सुपुत्रको रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार त्यागेर दरबारबाट ज्ञानको खोजीमा निस्किएका थिए ।
६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा सिद्धार्थलाई भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भयो । यसपछि उनले बुद्धका रूपमा विश्वभर प्रसिद्धि पाए । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिएका थिए । गौतम बुद्धले बताएको आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि प्रज्ञा, शील र समाधि पर्छन् ।
यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । बुद्धलाई शान्तिका अग्रदूत, एसियाका ज्योतिलगायत उपमा दिने गरिएको छ । यस्तै, किरात समुदायको उभौली चाड पनि आजै मनाइन्छ । खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस् भन्ने कामनासहित किरात समुदायले बाली लगाउने समय पारेर पितृ तथा भूमिको पूजाआजा गरी उभौली पर्व मनाउने प्रचलन छ ।
बालीनाली नबिग्रीयोस् भनेर प्रकृतिको पूजा गरेर मनाइने यो पर्वमा किरात विधिअनुसार सुम्निमा र पारुहाङको पूजा गर्ने गर्छन् । मान्छेलाई खेती गर्ने ठाउँ दिने प्रकृति र खेती गर्न सिकाउने पूर्वजको सम्मानस्वरुप यो पर्वमा भूमिपूजा गरिन्छ । कोरोना भाइरस (कोभिड–१९) ले गर्दा किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायत जातिले घर–घरमा पूजामात्र गरेर मनाउँदै छन् । गर्त वर्ष पनि किरातीहरुले पूजामात्र गरेर मात्रै उभौली मनाएका थिए । यस्तै, सनातन हिन्दु धर्मावलम्बीहरूमध्ये केहीले यसै दिन देवाली, गोठधुप गर्छन् ।
विसंं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ ।














