काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले दशैँसम्म आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन् ।
काठमाडौं महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनाधिकृतरूपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै फुटपाथ व्यवसायी भने दसैँ मुखमा आएको भन्दै दसैँसम्म व्यवसाय गर्न दिन नगरपालिकालाई आग्रह गरेका हुन् ।
काठमाडौं महानगरपालिकाले बुधबार सोह्रखुट्टे, बालाजु क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । महानगरको ‘अल्टिमेटम’ अटेर गरिएपछि अवैध संरचनामा डोजर चलाइएको हो ।
महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरको अभियानअन्तर्गत काम भइरहेको बताए । यही भदौ ६ गतेदेखि महानगरले अवैध संरचनामा डोजर चलाउने अभियान सञ्चालन गर्दै आएको छ ।














