मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी (काफ्ले) को मृत्यु भएको तीन दिनसम्म पनि पोस्टमार्टम हुन सकेको छैन । आइतबार बिहान सात बजे आफ्नै घरको कोठामा मृत भेटिएकी रोजिनाको शव सोही दिन लगिएको भएपनि दुई परिवारबीचको द्वन्द्वका कारण पोस्टमार्टम हुन नसकेको हो ।
आइतबार वडाध्यक्ष खेमप्रसाद न्यौपाने र प्रहरीको समन्वयमा रोजिनाको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । माइती पक्षले शव उठाउन नदिने अडान राख्दाराख्दै पनि प्रहरी र जनप्रतिनिधिको चर्को दबाबका कारण पोस्टमार्टमका लागि धरान लगेको पीडितका आफन्तको दाबी छ । तर अहिलेसम्म पोस्टमार्टम नहुनुले आशङ्का उत्पन्न गराएको मृतककी सानिमा रमिला गिरी बताउँछिन् ।
‘सोमबार नै प्रहरी प्रशासनले पोस्टमार्टमको तयारी गरेको थियो तर पछि रोजिनाका घरपट्टीका मान्छे फेला पार्न नसकेको भन्दै पोस्टमार्टम गरेन’, उनले भनिन्, ‘रोजिनाको मृत्यु भएपछि नै घरपट्टीका सबै प्रहरी सुरक्षामा थिए । प्रहरीले कसरी पक्राउ गर्न सकेन ? २४ घण्टाभित्र गरिसक्नुपर्ने पोस्टमार्टम अहिलेसम्म नहुँदा शङ्का उब्जिएको छ । ’
कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा भेटिएको रोजिा गिरी (काफ्ले) को शव ।यता, इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले दुई परिवारलाई मिलाउन नसक्दा पोस्टमार्टम हुन नसकेको केटिएम दैनिकलाई जानकारी दिएका छन् । मृतकका पति विनोद काफ्ले पनि दुबईबाट आइसकेका कारण आज पोस्टमार्टम हुने र केही दिनमा रिपोर्ट आउने खनालले जानकारी दिए ।
‘हाम्रो कारणले पोस्टमार्टम रोकिएको होइन,’ उनले भने, ‘दुई परिवारबीचको द्वन्द्वका कारण पोस्टमार्टम हुन सकेको छैन । मृतकका पति पनि धरान पुगिसकेका छन् । घरपट्टीका सबै धरान पुगेका छन् । अब, माइतीपक्ष पनि यहाँबाट निस्कँदै छन् । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे पत्ता लाग्ने छ ।’
मृतक रोजिना गिरी । तस्विर सामाजिक सञ्जाल ।माइतीपक्षले भने रोजिनालाई हत्या गरेर झुन्डाएको भन्दै सोमबार नै किटानी जाहेरी दिएका छन् । रोजिनाका बुबा धर्मानन्द गिरी र आमा ईन्दिरा गिरीले इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएको इन्स्पेक्टर खनालले जानकारी दिए ।















