बुटवल — मंगलबार चर्को घाममा छाता ओढेर दर्जनौं महिला सिद्धार्थ राजमार्गको मणिग्राम क्षेत्रमा देखिए । उनीहरू सबैजसोका हातमा प्लेकार्ड थियो भने जुलुसको अगाडि देखिएका महिलाले बोकेको ब्यानरमा लेखिएको थियो, ‘जस्टिस फर सीता भण्डारी । सीताको न्यायका लागि एकजुट हौं ।’
टीका पाल्पा तानसेनको होलाङ्दी जाने बाटोमा ‘दि दरबार कटेज एन्ड रिसोर्ट’ सञ्चालन गर्थे । दुवै जना भदौ ६ गते पाल्पाबाट तिलोत्तमास्थित घर आएका थिए । एक दिन घर बसेपछि तीज मानेर फर्किने योजनासहित सीता भोलिपल्ट तिलोत्तमा–८ स्थित माइतीघर गएकी थिइन् । पाल्पा भएका टीकाले भदौ १९ मा सीतालाई फोन गरेर ‘घरमा दिदीका छोरा भतिजको बर्थडे पार्टी छ’ भन्दै बोलाए ।
पतिको वचन हार्न नसकेपछि उनी दिउँसो २ बजेतिर घर पुगिन् । तर श्रीमान्ले भनेजस्तो घरमा बर्थडे पार्टी थिएन । तीज मान्न आएकी छोरी हतारहतार फर्केपछि सीताका माइतीले उनलाई रातिसम्म फोन गरिरहे । तर फोन उठेन । सीता घर फर्केको भोलिपल्ट बिहानै ५ बजेतिर टीकाले ‘काम छ’ भनी माइती परिवारलाई घर बोलाए । सीताका बुबाआमा हुर्रिंदै त्यहाँ पुग्दा छोरीको मृत्यु भइसकेको थियो । बुबा हरिप्रसादले भने, ‘हत्या गर्नकै लागि छोरीलाई योजनाबद्ध तरिकाले बोलाएका रहेछन् ।’
छिमेकीका अनुसार सीता र टीकाबीच १५ वर्ष उमेर अन्तर थियो । ४० वर्षिय टीका र २५ वर्षीया सीताको २ वर्षअघि बिहे भएको थियो । पहिलो पत्नीसँग सम्बन्धबिच्छेद भएपछि टीकाले सीतासँग बिहे गरेका थिए । पछिल्लो समय उनीहरूबीच राम्रो सम्बन्ध थिएन । रक्सी खाएपछि पतिले मनपरी बोल्ने र कुटपिट गर्ने गरेको गुनासो सीताले गरिरहन्थिन् । सीता घर पुगेको दिन सासू, ससुरा, आमाजू, जेठाजु, जेठानीलगायत त्यहीं रहेको प्रहरी अनुसन्धानले देखाएको छ । राति ११ बजेसम्म परिवारसँगै रहे पनि त्यसपछि थाहा नभएको आमाजू विष्णुले प्रहरी बयानमा दाबी गरेकी छन् ।
प्रहरीका अनुसार घटनाको दिन पनि टीकाले मदिरा सेवन गरेका थिए । परिवारका अन्य सदस्य भने यसबारे बेखबर थिए । माइती पक्ष पुगेपछि मात्रै उनीहरू घटनास्थल अर्थात् सीताको कोठामा गएका थिए । इप्रका बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले सीताको पोस्टमार्टम गर्दा ‘ह्यांगिङ’ देखिएको बताए ।














